काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरुसँग आज बैंककमा भेटवार्ता गरेका छन् ।
भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमी भएको उल्लेख गर्दै थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरुलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती दिने बताए ।
उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए ।
यस्तै भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरुले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए । उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराए ।

