काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्नेछ ।
हिजोको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगे प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध पारेका थिए ।
आज पनि प्रतिपक्षी दहरू सोही रणनीतिमा देखिएका छन् । त्यसैले आजको बैठकमा प्रतिपक्षीहरूको कदम के होला भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
संसद सचिवलायले भने आजका लागि सम्भावित कार्यसूची तय गरेको छ । तर, सरकारले प्रतिपक्षी दलहरूले मागेको जवाफ नदिने अनि प्रतिपक्षी दलहरू पनि आफ्नो अडानमा टसको मस नहुने स्थितिमा बैठक चल्न भने सहज नहुने देखिएको छ ।


