काठमाडौं । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजाबाट १६ जनाको उद्धार भएको छ। गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार अहिलेसम्म पाँच जना महिलासहित १६ जनाको उद्धार भएको हो। नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ।
अहिले प्लाजाभित्र तीन जना देखिएका छन्। उनीहरूको पनि उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
अन्य मानिस पनि हुनसक्ने भएकाले सेनाको टोलीले उद्धार तथा खोजीको काम गरिरहेको छ। सेनाको टोली खोजीका लागि प्लाजा भित्र पसेको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन्। विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन्। बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ।
नौ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन्। होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको हो।

