बडिगाड । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ स्थित खड्ग जयन्ती माध्यमिक विद्यालयमा आफू खुसी विदा बस्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले स्पष्टिकरण सोधेको छ । विद्यालयका स्थायी शिक्षक घनश्याम घर्तीमगरलाई विद्यालयले व्यवस्थापन समितिले आफूखुसी विदा बसेको भन्दै स्ष्टीकरण सोधेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर केसीले जानकारी दिए । 'उहाँ विना अनुमति फागुन १८ गतेदेखि कार्यक्रम छ भन्दै विदा बस्नुभएको रहेछ' उनले भने । फागुन २५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विना जानकारी विदा बस्ने शिक्षक घर्तीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
आफूखुसी १० दिनभन्दा बढी विदा बस्ने घर्तीमगरलाई विद्यालयले व्यवस्थापन समितिले चैतको पहिलो हप्ता स्पष्टीकरण सोधेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसीका अनुसार शिक्षक घर्तीमगरले गल्ती स्वीकार गर्दै आगामी दिनमा विद्यालयलाई जानकारी गराएर विदा बस्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
कानुनतः शिक्षकलाई भैपरी पाउने विदा वर्षकाे ६ दिन रहेको छ । विद्यार्थीको फाइनल परीक्षाका बेला उनी विदामा बस्दा विद्यार्थीलाई पढाईमा समेत असर परेको विद्यालयका अभिभावले बताएका छन् ।
'उहाँले कक्षा ८ सम्म विज्ञान विषय पढाउनुहुन्छ,' एक अभिभावले भने, 'विद्यार्थीको फाइनल परीक्षका बेला (उहाँ) फागुन १८ गतेदेखि बिदा बस्दा विद्यार्थीको पढाइमा असर परेको छ ।'
के भएको थियो ?
गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय शिक्षा तालिम केन्द्र तनहुँले फागुन १९ गते पालिकाहरुलाई पत्र पठायो । जसमा थियो फागुन २८ गतेदेखि चैत ३ गतेसम्म भलिबल रेफ्रीसम्बन्धी ५ दिने तालिम कार्यक्रम । तर, विद्यालयलाई जानकारी नै नदिई उनी २८ गतेको कार्यक्रमका लागि फागुन १८ गतेदेखि नै विदा बसेको पाइएको छ ।
विना स्वीकृति विदा बसेका उनले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रअ बासुदेव अर्याललाई खबरै नगरी विदा बसेको विद्यालय व्यवस्थापन समितिका अर्को सदस्यले जानकारी दिए । सो पश्चात पालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र सापकोटाले यसविषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिएका छन् ।
'गाउँपालिकाले २८ गतेदेखि सञ्चालन हुने तालिममा घर्तीलाई पठाएको हो अरु कुरा हामीलाई जानकारीमा छैन' उनले भने । विद्यालय स्रोतका अनुसार घर्तीमगर विना स्वीकृति विदामा बस्ने र काज मिलाउने गरेको छन् । पालिकाको नेृतत्वसँग नजिक रहेका उनले विद्यालयका प्रध्यानध्यापक वासुदेव अर्याललाई समेत नेतृत्व छाड्न दवाब दिने गरेको विद्यालय स्रोतको दाबी छ ।

विदाको व्यवस्था के छ ?
बडिगाडको शिक्षा तथा नियमावलीको परिच्छेद ११ मा विदा तथा काजसम्बन्धी व्यवस्था अनुसार प्रधानाध्यापकको बिदा व्यवस्थापन समितिको अध्यक्षले र शिक्षक वा कर्मचारीको बिदा प्रधानाध्यापकले स्वीकृत गर्ने व्यवस्था छ । तर, एक पटकमा तीन दिनमा नबढाई पर्व वा भपैरी आउनेबिदा प्रधानाध्यापक आफैले लिन र दिन सक्नेछ । सो भन्दा बढी पर्व वा भैपरी आउने बिदा लिनुपरेमा प्रधानाध्यापकले व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । तर, शिक्षक घर्तीले विना जानकारी १० दिन विदा बसेको भन्दै विद्यालय व्यवस्थापन समितिले स्पष्टिकरण सोधेको हो ।

