रुकुमपश्चिम, । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् । स्थानीयस्तरमै मालपोत र नापी सेवा दिने उद्देश्यले चार महिना पहिले खोलिएका यी दुवै कार्यालयमा अहिले ताला लगाइएको छ ।
गत असोज १० गते उद्घाटन गरिएका मालपोत र नापी कार्यालय हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । स्थानीयवासीले भने कार्यालयको उद्घाटन गरेर मात्रै छोडिएको गुनासो गरेका छन् ।
जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्र कार्यक्षेत्र रहने गरी ती दुई कार्यालय उद्घाटन गरिएको थियो । तत्कालीन कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री रातो कामीले दुवै कार्यालयको उद्घाटन गरेका थिए। कार्यालय उद्घाटन भएको चार महिना बितिसक्दा पनि साइनबोर्ड राख्नेबाहेक केही उपलब्धि भएको छैन ।
मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बजेट विनियोजन नहुँदा सेवा सञ्चालन हुन नसकेको बताएका छन् ।
उनले विभागबाट कार्यालय सञ्चालनका लागि कुनै पनि परिपत्र नआएकाले कहिले सञ्चालन हुन्छ भन्नेबारेमा अन्योल नै रहेको जानकारी दिए। आठबीसकोटस्थित मालपोत र नापी कार्यालयमा जिम्मेवारी तोकिएका कर्मचारीले आफ्नै दरबन्दी रहेको कार्यालयमै फर्किएर काम गरिरहेका उनको भनाइ छ ।
आठबीसकोट नगरपालिका–९ मा भाडाको घरमा उक्त कार्यालय स्थापना गरिएको हो । केही दिनमै सञ्चालनमा आउने आश्वासन देखाए पनि अहिलेसम्म कार्यालय सञ्चालनमा नआएको स्थानीय कमल शाहले बताए । कार्यालय उद्घाटनको समयमा यहाँका सेवाग्राही जग्गासम्बन्धी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेको बताइए पनि तालाबन्दी हुँदा सदरमुकाममै धाउन बाध्य भएको उनको भनाइ छ ।
रुकुमपश्चिमको आठबीसकोटमा नापी र मालपोत कार्यालय सञ्चालन गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएपछि नै कार्यालय उद्घाटन गरिएको थियो । यहाँका बासिन्दा स्थानीयस्तरमै जग्गासम्बन्धी हरेक कामकाज गराउन पाउने भएपछि खुसी भएका थिए तर चार महिनासम्म पनि सेवा सुरु नहुँदा उनीहरू निराश भएका छन्
मालपोत कार्यालयमा चार महिनादेखि ताला
रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थापना गरिएका मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेका छन् ।

