इन्स्पेक्टर महत मृत्यु प्रकरण : इन्स्पेक्टर जोशी र हवल्दार शाही पुर्पक्षका लागि थुनामा

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् । महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पे…

इन्स्पेक्टर महत मृत्यु प्रकरण : इन्स्पेक्टर जोशी र हवल्दार शाही पुर्पक्षका लागि थुनामा

काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गर्न संलग्न रहेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

इन्स्पेक्टर महत फागुन १० गते हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै उनकै भाइ विनोदले मृत भेटिएको भोलिपल्टै किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीलगत्तै इन्स्पेक्टर जोशी पक्राउ परेका थिए भने प्रहरी अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाही पनि पक्राउ परेका थिए ।

इन्स्पेक्टर महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको परिवारले बताएको थियो । महतको विवाह उनले रोजेकै केटासँग गरिदिन परिवारमा सल्लाहसमेत थियो । तर, एकाएक आफू कार्यरत रहेको ठाउँमै महत मृत अवस्थामा भेटिएपछि किटानी जाहेरी परेको हो ।