पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियान निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४५० मत प्राप्त गरिन्।
अखिल क्रान्तिकारीका नवीन अधिकारीले २१५, संयुक्त प्यानलका सन्तोष पौडेलले १८७, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए।
स्ववियु सचिवमा अनेरास्ववियुका अनेरास्ववियुका विराट दुवाडी १३७९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६०७ मत ल्याए। अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २८५ मत ल्याए।
कोषाध्यक्षमा एमाले अनेरास्ववियुका सन्दिका गुरूङ निर्वाचित भएन्। उनले १२७९ मत ल्याइन्। प्रतिस्पर्धी नेविसंघकी अभिषा यादवले ६३२४ मत ल्याइन्।
पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो।
आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट छनौट हुनेछ। उपाध्यक्ष, उपसचिव र ८ जना सदस्य समानुपातिक निर्वाचनबाट छनौट हुनेछ। २१ सदस्यीय स्ववियु समितिको अवधी २ वर्ष हुनेछ।

