खरिद प्रक्रियामा शतप्रतिशत शुद्धता कायम गरियोस् : स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

खरिद प्रक्रियामा शतप्रतिशत शुद्धता कायम गरियोस् : स्वास्थ्यमन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाइ थियो। बिहीबार काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचारमाध्यममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अब पनि पाइए सह्य नहुने चेतावनीसमेत दिए। मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए। उनले भने, अहिले लगभग धेरैजसो मिडियाहरूमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरू बन्ने गरेका छन्। खरिद प्रक्रियामा सत प्रतिशत पारदर्शिता कायम गर्नेगरी यहाँहरूले काम गर्नुहोला। भोलि कही कतै यस्ता गुन्जायसहरू देखिए भने, रहे भने त्यतिबेला तपाईंहरूलाई कसैले बोक्नेवाला छैन। यो धेरै संवेदनशील विषय छ। सबैको यसप्रति गम्भीर रूपले ध्यानाकर्षण भएको छ। यसमा तलमाथि भयो भने जनतामा ठूलो निराशा आउन सक्छ। त्यसकारण खरिद प्रक्रियामा शतप्रतिशत शुद्धता कायम गरियोस्। स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनु पर्दछ।’ मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए। उनले स्वास्थ्य उपकरणहरूको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए। मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे।