काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले आठ महिनाअघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष नभएको र माइतीघर मण्डल पनि लगभग खाली हुँदै गएको बताएका हुन्।
उनले एकातिर सरकारका गलत क्रियाकलापका विरूद्ध र अर्कातिर प्रतिगामी चलखेलकाविरूद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भएको पनि बताए।
‘हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरूद्ध र अर्कातिर प्रतिगामी चलखेलकाविरूद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सिर्जना भयो,’ उनले भने।
‘प्रचण्ड’ले सरकारले जनतासँग संवाद गर्न सामर्थ्य गुमाएको हो वा संवाद नै गर्न नचाहेको हो ? भनेर प्रश्न गरेका छन् । प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् ।
‘वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लेका छन् र सडकबाटै राजसंस्था पुनर्स्थापनाको चुनौती दिएका छन्’, प्रचण्डले भने, ‘यसका पछाडि संगठित प्रयास छ । देश भित्र र बाहिरका चलखेल मिसिएका छन् ।’
उनले यस्ता चलखेल हिजो र अस्ति हुँदै आए पनि तर अहिले अचानक किन वृद्धि भयो ? भनेर प्रश्न गरे । साथै उनले सत्तामा रहेका पार्टीमा रहेकाले गरेका शासकीय शैली नै मूलकारण हो भन्ने बुझाइ रहेको प्रचण्डको भनाइ छ ।
उनले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरे । ‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्रै आफ्नो ठाउँ खोज्नुस्’, प्रचण्डले भने,‘हामीलाई आपत्ति छैन ।’ उनले लोकतन्त्र प्रचण्डको जति ज्ञानेन्द्रको पनि हो भन्ने कुरा सबै राजनीतिक दलले मान्यता राखेको भन्दै असंवैधानिक बाटो खोजिए क्रान्ति हुने बताए । राजावादीहरू सडक र सदनमा रहेको भन्दै उनीहरू इतिहासको चक्का पछि फर्काउन लागेको बताए । उनले सत्तासीनहरूको कुशासनले पनि लोकतन्त्रलाई चुनौती दिइरहेको बताए ।

