जागरण अभियान स्थगित गरेर काठमाडौं आए प्रचण्ड, बोलाए पदाधिकारी बैठक

काठमाडौं । राजावादीहरूको चलखेल बढेको भन्दै तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । आज दिउँसो काठमाडौंमा बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदै छन् । मधेशमा अभियान चलाइरहेका पार्टी अ…

जागरण अभियान स्थगित गरेर काठमाडौं आए प्रचण्ड, बोलाए पदाधिकारी बैठक

काठमाडौं । राजावादीहरूको चलखेल बढेको भन्दै तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । आज दिउँसो काठमाडौंमा बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदै छन् ।

मधेशमा अभियान चलाइरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझै काठमाडौं फर्किसकेका छन् ।प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी भूमिका बढाउनबारे पदाधिकारी बैठकमा छलफल हुने माओवादी नेताहरूको भनाइ छ ।

पछिल्लो समय देशभर राजावादीहरूको सक्रियता बढेको छ । उनीहरूले राजा फर्काउने भन्दै अभियान चलाइरहेका छन् । गणतन्त्र पक्षधर नेताहरूले भने चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिइरहेका छन् ।

राजावादीहरूले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । पूर्वराजा शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन हुन लागेको हो । पूर्वराजा शाह आइतबार पोखराबाट काठमाडौं फर्किँदै छन् ।

उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।

यसैबीच राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताए ।

पूर्वराजाको स्वागतका लागि हुने कार्यक्रमको सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी बताउँछन् ।