चार दिनपछि ५ अंकले बढ्यो नेप्से

लगातार चार कारोबार दिन घटेपनि बुधबार नेप्से परिसूचक ४।९७ अंकले बढेको छ।

चार दिनपछि ५ अंकले बढ्यो नेप्से
काठमाडौँ । लगातार चार कारोबार दिन घटेपनि बुधबार नेप्से परिसूचक ४.९७ अंकले बढेको छ। अन्तरदिनको कारोबारमा उच्च उतारचढाव देखिएको बजारको दिशा अझै स्पष्ट हुन सकेको छैन। आज नेप्से परिसूचक ४.९७ प्रतिशतले बढेर २११६.६५ बिन्दुमा पुगेर बन्द भएको हो। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो दिन दुई अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा एक अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। आज दुई सय ६१ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ११० वटाको मूल्य बढेको छ भने एक सय ९३ वटाको मूल्य घटेर किनबेच भएको छ। बुधबार आदर्श लघुवित्तको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको वृद्धि देखिएको छ। उक्त लघुवित्तको प्रतिकित्ता मूल्य एक हजार सात सय ५३ रुपैयाँ ६० पैसा कायम रहेको छ। त्यस्तै सिद्धार्थ इन्सुरेन्सको मूल्य ८.२८ प्रतिशतले बढेको छ। यसको सेयर मूल्य प्रतिकित्ता ६ सय ८० रुपैयाँ कायम रहेको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा एनआइबिएल समृद्धि कोष(२ रहेको छ। कोषको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको हो। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंक लिमिटेडको भएको छ। यस दिन उक्त बैंकको पाँच करोड ९३ लाख रुपैयाँमा बराबरको सेयर खरिद–बिक्री भएको हो।