काठमाडाैं । नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनबारे आवश्यक निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार बैठकले जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने निर्णय गरेको छ । यस्तै जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने, अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव (कोषध्यक्ष भएमा सो सहित)को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय भएको छ ।
यसैगरी स्थानीय तहका प्रमुखरअध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
यसैगरी अप्रिल २२ ९वैशाख ९, २०८२० पार्टीको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाउने एमालेले निर्णय गरेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि आएका नामहरू बैठकले अनुमोदन गरेको छ । सो अनुसार, जयन्त स्वार (अछाम) रामबहादुर बुढा (अछाम), नन्दसिंह कठायत (अछाम) र अमर विक (अछाम) प्रदेश कमिटी सदस्य मनोनयन भएको गौतमले बताए ।

