काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन् ।
यसअघिको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः फेरि २४ घण्टे स्पष्टीकरण सोधेका मन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मन्त्री खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
मन्त्रिपरिषद् बैठककै दोस्रो दिन घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्न भनिएको छ । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिन भनिएको छ ।
घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधिएको हो ।


