नेपालभित्र क्रिकेट खेल्न पाउने गरी सन्दीप लामिछानेको निलम्बन फुकुवा

क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको एक बोर्ड सदस्यले जानकारी दिए । लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएकाले खेल्न दिने निर्णय गरेको ती बोर्ड सदस्यले बताए।

नेपालभित्र क्रिकेट खेल्न पाउने गरी सन्दीप लामिछानेको निलम्बन फुकुवा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको एक बोर्ड सदस्यले जानकारी दिए । लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएकाले खेल्न दिने निर्णय गरेको ती बोर्ड सदस्यले बताए। 'क्रिकेट खेल्न पाउँ भनेर निवेदन दिनुभएको थियो, हामीले कानुन व्यवसायीसँग परामर्श गरेर सर्वसम्मत उहाँको निलम्बन फुकुवा गरेका छौं,’ ती बोर्ड सदस्यले भने, ‘उहाँले अब नेपालभित्र क्रिकेट खेल्न पाउनुहुन्छ।’ निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा नपर्ने ती सदस्यले बताए । विवादका बीच मंगलबार राति पोखरामा क्यानको बोर्ड बैठक सकिएको थियो। सात जना केन्द्रीय सदस्यले अध्यक्षसहित पाँच जनाको राजीनामा माग्दै बैठक बहिष्कार गरेका थिए। लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। त्यतिबेला नेपाली क्रिकेट टिमको कप्तानसमेत रहेका लामिछानेलाई क्यानले भदौ २३ गते निलम्बन गरेको थियो। बलात्कार अभियोगमा असोज २० गते पक्राउ परेका लामिछानेलाई उच्च अदालत पाटनले पुष २८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।