बागलुङ । बागलुङका विभिन्न स्थानमा तीन जना महिला मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुधबार राति म्याग्दी बेनी नपा-२ घर भई हाल बागलुङ नगरपालिका-४ उपल्लाचौर डेरा गरी बस्ने २३ वर्षीया सिम्रन घिमिरे मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार मृतकको बिगत १ महिना अगाडी बिबाह भएको र श्रीमान रोजगारीको लागि जापानमा रहेको खुलेकाे छ । मृतक घिमिरेले बागलुङ बजार स्थित रहेको न्यू वोसिस बोडिङ स्कुलमा पढाउने गरेकाे पनि खुलेकाे छ ।
यस्तै, बिहीबार बागलुङ बागलुङ नगरपालिका-११ रायडाँडा उपल्लो रामतोलाकी ४२ वर्षीया हुपी चन्द्र थापा मृत फेला परेकी छन् । घर नजिकैकाे चिलाउनेको रुखमा नाईलनको डोरीको पासो लगाई मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै, बिहीबार निसीखाेला गाउँपालिका-१ देविस्थान बजार नजिकैकाे खाेलामा एक महिला मृत फेला परेकी छन् । निसीखोला गाउँपालिका-१ लेवाङ घर भएकी ८० वर्षीया रुपी विक निसीखाेलामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । मृतक रूपी विक माघ २५ गतेबाट हराइरहेकाे र आफन्तले प्रहरीमा निवेदन समेत दिएकाे इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएकाे छ ।

