कसले दियो रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी ?

सर्वोच्चको फैसला अनुसार उनले फेरि नागरिकता लिए । तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन । २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले सोमबार (माघ १५) मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् ।

कसले दियो रवि लामिछानेविरुद्ध प्रहरीमा उजुरी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले मंगलबार काठमाडौं प्रहरी प्रमुख (एसएसपी) दान बहादुर कार्कीलाई भेटेर उजुरी दिएका हुन् । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न पौडेलले माग गरेका छन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गरेको छैन । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए । पौडेलले अध्यागमन विभागमा पनि उजुरी दिएका छन् । लामिछानेले २०७० साल (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नागरिकता कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले पुरानो नागरिकता आफूखुसी चलाएका थिए । सर्वोच्चको फैसला अनुसार उनले फेरि नागरिकता लिए । तर, उनको पासपोर्ट सम्बन्धी विवाद टुङ्गो लागेको छैन । २०७२ जेठ १३ मा उनले लिएको पासपोर्ट ‘विवादित’ छ । यद्यपि उनले सोमबार (माघ १५) मा सो पासपोर्ट राहदानी विभागलाई फिर्ता गरेका छन् । अमेरिकी नागरिक छँदै रविले लिएको भनिएको पासपोर्टबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।