काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन वाग्लेले यस्तो चेतावनी दिएका हुन्।
‘विश्वमा नै नयाँ शक्तिहरूलाई बेवास्ता गर्ने, खिसिट्युरी गर्ने, आक्रमण गर्ने र अस्तित्व स्वीकार्ने चरणहरू हुँदा रहेछन्। हामी अहिले आक्रमणको चरणबाट गुज्रिरहेको महसुश भएको छ। तर चौथो चरण चाँडै नै आउँछ। त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश। तेस्रो चरणबाट चौथो चरणमा जानेमा हामी पुर्ण विश्वस्त छौँ,' उनले भने, 'यस सम्मानित सदनमा आज एउटा विशेष अनुपस्थिति छ। नेपालको संसदीय इतिहासमा ५० हजार मतको हारहारीमा दुईरदुई पटक विजयी भएका चितवन क्षेत्र नं २ का सांसद, हाम्रो पार्टीका सभापति माननीय रवि लामिछाने यहाँ उपस्थित हुनुहुन्न आज। २०६४ सालमा ल्याइएको सम्पत्ति शुद्धीकरण ऐनको दफा २७ मा टेकेर मुद्दा दायर हुनासाथ सबै राष्ट्रसेवकलाई निलम्बन हुने प्रावधानमा टेकेर यस्तो निर्णय गरिएको छ। हामीले नै बनाएको संविधानको बेवास्ता गर्दै उहाँलाई निलम्बित गरिएको छ। त्यसको कानुनी उपचार हामी खोज्छौँ।'
उनले सभापति लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए। 'रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको छ।'

