काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को भोलि हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको छ।
शुक्रबार साँझ अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको हो । जसअनुसार अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएकामध्ये पाँच जनाको उम्मेदवारी कायम भएको छ।
पम्फा भूसालनिकट विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले हेडक्वार्टरनिकट भनिएका उपमहासचिव शक्ति बस्नेतको समर्थन रहेका विजयप्रकाश सापकोटालाई समर्थन गर्ने भएका छन्।
अब अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव, उपाध्यक्ष कृष्णबहादुर महरानिकट योगेन्द्र बुढा, उपमहासचिव बस्नेत निकटका विजय सापकोटा, वर्षमान पुन निकटका सुदिन पौडेल र जनार्दन शर्मा निकटका हेमन्त राईले चुनाव लड्नेछन्।
महासचिवमा १० जनाले मनोनयन दर्ता गराएकामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिँदा ८ जनाको कायम भएको छ। ८ महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन्।
गोबिन्द बानियाँ र रोशन खड्काले महासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन्। रोशन खड्का उपाध्यक्षका उम्मेदवार छन्।
क्रान्तिकारीको ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि भोलि बिहान मतदान हुनेछ।

