प्रचण्ड र शशांकबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाबीच मंगलबार चितवनको भरतपुरमा जम्काभेट भएको छ । प्रचण्ड उताबाट काठमाडौं फर्कने र शशांक यताबाट चितवन ओर्लने समय जुधेपछि उनीहरूबीच भरतपुर…

प्रचण्ड र शशांकबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाबीच मंगलबार चितवनको भरतपुरमा जम्काभेट भएको छ । प्रचण्ड उताबाट काठमाडौं फर्कने र शशांक यताबाट चितवन ओर्लने समय जुधेपछि उनीहरूबीच भरतपुर विमानस्थलमा जम्काभेट भएको हो ।

नेताहरूको आवतजावतमा विमानस्थलमै पुगेर समाचार बनाउने पत्रकार पनि त्यहीँ भेला भए । सत्ता र प्रतिपक्षका नेताहरूलाई एक ठाउँमा प्रश्न गर्न पाउनु पत्रकारका निम्ति अवसर थियो । दुवै नेतालाई एउटै प्रश्न सोधियो, वर्तमान सरकारको स्थिरताका विषयमा ।

वर्तमान सरकारको आयु लामो छैन भन्दै आएका प्रचण्डले प्रश्नबाट उत्साहित हुँदै जवाफ दिए, “मैले त भन्दै आएको छु– यो सरकारको आयु धेरै लामो छैन ।”

उनले वर्तमान सत्ता गठबन्धन प्राकृतिक नै नभएको तर्क गरे । शशांक प्रचण्डको बायाँतर्फ थिए । उनीसँगै गएका कांग्रेस नेता चन्द्र भण्डारी प्रचण्डको दायाँतर्फ बसेका थिए । प्रचण्डको जवाफ सुनेर भण्डारी मुस्कुराउँदै थिए ।

पत्रकारको उक्त प्रश्नको जवाफ शशांकतर्फ लक्षित थियो । त्यसपछि पत्रकारले प्रश्न गरे– तपाईं (शशांक) बारबार ०८४ सम्म सरकार जान्छ भन्नुहुन्छ, प्रतिपक्षी दलको नेता पनि यहीँ हुनुहुन्छ, अब के भन्नुहुन्छ ?

डा. शशांकले सरकार ‘स्टेबल’ नै भएको जवाफ दिए । तर, उनले ‘राजनीतिमा जुनसुकै बेला जे पनि हुन सक्ने’ भनेपछि प्रचण्ड मुस्कुराए ।

“हाम्रो त चाहना, दुई ठूलो दल मिलेर स्टेबल सरकार दिने भनेर बनाएको हो । एक हिसाबमा स्टेबल नै छ, तलमाथि हुने सम्भावना कम छ,” शशांकले भने, “तर, राजनीति हो, जे पनि हुनसक्छ, नहुने होइन ।”