गंगा हत्या प्रकरण : शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा थियो- प्रहरी

बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ हाँडिखोलामा खाजा पसल गर्दै आएकी गंगादेवि शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

गंगा हत्या प्रकरण : शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा थियो- प्रहरी
काठमाडौं । बागलुङ र गुल्मीको सीमाना हाँडिखोलामा खाजा पसल गर्दै आएकी बडिगाड गाउँपालिकाकी एक महिलाको हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ हाँडिखोलामा खाजा पसल गर्दै आएकी गंगादेवि शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ । ५७ वर्षीया शेरचन हाँडिखोलामा खाजा पसलसहित कुखुरा र ब्राखा पालन गर्दै आएकी थिइन् । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि प्रहरीलाई खबर गरेको स्थानीय विष्णु काउचाले जानकारी दिए । 'बिहान होटलको ढोका नखोलिएपछि परिवार र प्रहरीलाई खबर गर्यौं,' उनले भने, 'दुवै हातगोडा बाँधिएर घोप्टो परेको अवस्थामा शव थियो, टाउँकोबाट रगत बगिररहेको थियो ।' अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेका छ । “घटना हत्या भएको हाम्रो आशङ्का छ”, रानाभाटले भने, “अहिले भैरहवाबाट कुकुर ल्याई  अनुसन्धान हुँदै छ ।” अविवाहित उनले एक्लै गङ्गा होटल सञ्चालन गर्दै आएकी थिइन् । शनिबार साँझ उनको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताए । प्रहरीले अहिले वरपर कुकुर परिचालन गरेर घटनाको मुचुल्का उठाउने काम गरिरहेको छ । तस्बिर : कमल पाैडेल