बागलुङ । नेपालमा केन्द्रीय विद्धुतिकरणको काम तिव्र गतिमा भइरहेको विद्धुत प्राधिकरण भन्ने गर्छ । तर, कतिपय ठाउँमा भने ४ वर्ष अगाडि गाडिएका पोलहरु भने एकाएक उखलेर लगिएको घटना सार्वजनिक भएको छ । यो खबर हो बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ५ स्थित ग्वालीचौरको हो ।
साविक ग्वालीचौर गाविस वडा नम्बर-५ दाँगमा केन्द्रीय विद्धुत प्रशारण गर्ने भनी गाडिएका पोलहरूमा तार तान्नुको सट्टा उल्टै पोल नै उखेलेर अन्य ठाउँमा लैजान लागिएको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका छन् ।
बुधबार दिउँसो स्थानीयहरू खानेपानी, लघु जलविद्युतको झारामा गएको समयमा एकाएक पोलहरू उखेलेर ट्याक्टरमा लोड गरि खार बजारमा पुगेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
स्थानीय सरकारको अघिल्लो कार्यकाल सुरु गरेको कामलाई थप अगाडि बढाउन भुमिका खेल्नुपर्ने जनप्रतिनिधि कै निर्देशनमा उल्टै पोल उखेलिएको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीयलाई कुनै जानकारी नै नदिई पोल उखेलिएको स्थानीयले बताएका छन् । जनताको नजिकको सरकारले जनतालाई विकासमा थप सुविधा दिनुपर्नेमा उल्टै आघात पुग्नेगरी पीडा दिएको पूर्व वडासदस्य घम्बिर पेमीले बताए ।
नियन्त्रणमा लिएको ट्याक्टरलाई गाउँमै फर्काएर राखिएको छ भने उखेलिएका पोलहरु सम्बन्धित ठाउँमा नगाडिएसम्म ट्याक्टर नछाड्ने स्थानीय बताएका छन् ।
यता विद्युत प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले त्यहाँ स्थानीयकै कारण विद्युत जडानमा समस्या भएको बताएका छन् । न्यूज खरीसँगको कुराकानीमा उनले भने, '५ वर्षदेखि त्यहाँ समस्या रहेको छ, हामीले भीरकटेराभन्ने स्थान हुँदै विद्युत जडान गर्न खोज्दा स्थानीयले अवरोध पुर्याउनुभएको हो ।'
पौडेलले विद्युत विस्तार गर्दा सालको रुख काट्नुपर्ने भएको हुँदा कानुनी जटिलताले गर्दा त्यहाँका विद्युत पोल निकालेर अर्को ठाउँबाट विद्युत विस्तार गर्न खोजिएको बताए ।

