काठमाडौं । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउने भएकी छन् । दुई दिने भ्रमणका लागि आइतबार उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रभावशाली नेताहरूलाई भेट्ने कार्यक्रम रहेका छ ।
झन्डै साढे तीन दशकको कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको साथ लिएर सत्ता सम्हालेपछि काठमाडौंको भ्रमणमा आउने उनी पहिलो उच्चपदस्थ विदेशी कूटनीतिज्ञ हुन् । नुल्याण्ड माओवादी नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तारका लागि नेपाल आउन लागेको बुझिएको छ ।
को हुन् उनी ?
नुल्याण्डले सन् २०२१ को एप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
उनी राष्ट्रपति ओबामाको कार्यकालमा तत्कालीन विदेशमन्त्री जोन केरी मातहत रहेर युरोपेली तथा युरेसियन मामिला सम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्यरत रहेकी थिइन्।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको समयमा उनी विदेश मन्त्रालयकी प्रवक्ता रहेकी थिइन्। त्यसअघि राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि सन् २००८ सम्म उनी उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका लागि अमेरिकी राजदूत थिइन्।
त्यसअघि सन् २००३ देखि सन् २००५ सम्म उनी अमेरिकी उपराष्ट्रपति चेनीकी उप राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेकी थिइन्।
ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका काम गरेकी उनीसँग रुस, चीन र मङ्गोलिया सहितका देशमा पनि काम गरेको अनुभव छ।
तीनजना राष्ट्रपतिसँग काम गरिसकेकी अमेरिकी कूटनीतिज्ञ भोलि काठमाडौं आउँदै
राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउने भएकी छन् । दुई दिने भ्रमणका लागि आइतबार उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

