८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि…

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।

गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोंगर(खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।