काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्रीमा झर्‍यो

काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक…

काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्रीमा झर्‍यो

काठमाडौं । शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महशुस गरिएको छ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो। काठमाडौंबाहेक देशैभरि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएका छन्।

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ। । जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ।

‘पोस्ट मनसुनबाट जाडो सिजनतर्फ जाँदै गर्दा मौसमी प्रणाली त्यति सक्रिय नभएकाले आकाशमा बादल छैन। बादल नहुँदा दिउँसो तापक्रम अलि माथिसम्म पुग्ने भयो। खुल्ला आकाश हुँदा न्यूनतम तापक्रम पनि बिहानमा झर्ने हुन्छ,’ मौसमविद अधिकारीले भने।

उनले दिउँसोको अधिकतम तापक्रम पनि त्यति नघटेको तर न्यूनतम तापक्रम ओरालो लागिरहेको बताए। काठमाडौंमा शनिबार १८ देखि १९ डिग्री सेल्सियसम्म अधिकतम तापक्रम रहने महाशाखाको आकलन छ।

अघिल्लो सिजनमा पनि मौसम र तापक्रम करिब करिब यसैपालिको अनुसार भएको पनि मौसमविद अधिकारीले जानकारी दिए।