काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज आइतबार अदालत लैजाने भएको छ ।
कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको १५ दिनको म्याद थप आइतबार सकिँदैछ । उनीमाथि अनुसन्धान नसकिएकाले पुनः म्याद थपका लागि आइतबार अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका रविलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।
कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।

