गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज शुक्रबार हुने भएको छ। उक्त विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ ।

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज शुक्रबार हुने भएको छ। उक्त विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले संक्षिप्त सुनुवाइ गरेर सम्भवतः आजै निर्णय सुनाउनेछ । यसअघि माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासले यो मुद्दा हेर्दाहेर्दैमा राखेको थियो । गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् । आज नै बहस सकिने भएकाले आजै अदालतले संक्षिप्त आदेशसहित निर्णय सुनाउने सम्भावना छ । त्यसो नभए सर्वोच्च अदालतले निर्णय सुनाउने कुनै मिति तोक्न पनि पाँउछ । लामिछानेविरूद्ध प्रतिनिधि सभाका सदस्यको रूपमा शपथ नगराउन गत मंसिर २८ गते रिट दायर भएको थियो। तर पुस ६ मा बसेको संवैधानिक इजलासले लामिछानेको नागरिकता र पासपोर्ट विवादबारेको मुद्दामा अन्तरिम आदेश नदिएपछि शपथ लिने बाटो खुलेको थियो। लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। त्यस्तै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।