काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
भारतीय गुण्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अदालतले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
साइबर अपराधको मुद्दा टुंगिएपछि प्रसाईंलाई सीआईबीमा ल्याएर अनुसन्धान गर्ने ब्यूरोले जनाएको छ । यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरिसकेको छ ।
फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको अनुसन्धानबाट खुलेको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन सम्पर्क भएको देखिएको थियो । एसपी बोगटीका अनुसार प्रसाईंविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइने छ ।

