गोकर्णेश्वरमा तीन जनाको शव सडेको अवस्थामा फेला

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा भेटिएको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ । घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ । त्रिवि शिक्षण अस्…

गोकर्णेश्वरमा तीन जनाको शव सडेको अवस्थामा फेला

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा भेटिएको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ ।

घटनास्थलमा पुगेका उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एक अधिकृतका अनुसार, तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।

कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो । त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको छ ।

प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् ।

फर्किएर आउँदा घरको बाहिरपट्टी नै ताला लागेको देखेपछि आफू बाहिरै बसेको उनले बयान दिएका छन् । प्रहरीका अनुसार, तालाभित्र र बाहिर दुवैतिरबाट लगाउन मिल्ने किमिसको छ ।

घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको देखिएको छ । ‘त्यहाँ तेल पनि भेटिएको छ, दुई महिनाको बच्चालाई लगाइदिन राखेको जस्तो देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘यद्यपि, थप विषयहरुको जाँच भइरहेको छ ।’

अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ । अहिले घटनास्थलमा शवको मुचुल्का भइरहेको छ । घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् ।

हालसम्म सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । यद्यपि, अहिलेसम्मको जाँचले घटना भवितव्य जस्तो देखिएको अधिकृतहरुको भनाइ छ । दुवै जनाले एकअर्कासँग दोस्रो विवाह गरेको प्रहरीको भनाइ छ ।