काठमाडौं । ललितपुरको मितेरी सहकारीको रकम ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङसँग प्रहरीले ‘बयान कागज’ गराएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार लाजिम्पाटस्थित कार्यालयमै बोलाएर कागज गराएको हो ।
करिब साढे ४ घण्टा भएको बयानमा गुरुङले सहकारी ठगीमा आफू संलग्न नरहेको तर सहकारीका कारण आफ्नो ‘घरबार’ बिग्रिएर उल्टै पीडित हुन पुगेको जिकिर गरेका छन् । उनले श्रीमती ज्योति गुरुङसँग भएको सम्बन्धविच्छेद सक्कली रहेको दाबी गरेका छन् । सम्बन्धविच्छेदको कारण सहकारी नै भएको उनको भनाइ छ । रकम हिनामिना चाल पाएपछि मितेरी सहकारीका सञ्चालकहरूले धनराज र उनकी तत्कालीन पत्नी ज्योति गुरुङसहितलाई उपस्थित गराएर २०७६ पुस १६ मा छलफल गराएका थिए । त्यसको दुई महिनापछि धनराज र ज्योतिले ललितपुर अदालतमा सम्बन्धविच्छेद गरेका थिए ।
सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार बयानमा गुरुङले सम्बन्धविच्छेदका क्रममा पहिलेका सबै ऋण आफैंले सकार्ने, छोराछोरीको लालनपालन आफैं गर्ने र त्यसबापत ज्योतिले अंश दाबी नगर्ने सम्झौता भएको उल्लेख गरेका छन् । सहमतिअनुसार नै विच्छेदअघि र पछि मितेरी सहकारीबाट लिएको ऋणको साँवा–ब्याजसहित ८४ लाख रुपैयाँ चुक्ता गरिसकेको पनि उनले बयानमा बताएका छन् ।
गुरुङले सम्बन्धविच्छेदको १ वर्षपछि सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण लिँदा र २०७९ को आम निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा पत्नीको नाम ‘ज्योति गुरुङ’ लेखिएकाले नक्कली सम्बन्धविच्छेद गरेको आरोप पूर्वकानुनमन्त्री गुरुङमाथि लाग्दै आएको छ ।

