काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई डिल्लीबजार कारागारमा राखिने भएको छ।
आज बिहान स्वयम्भू, सानोभर्याङस्थित कम्फोर्ट हाउजिङबाट सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो।
२०६१ वैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो। उक्त फैसलालाई यही कात्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो।
मनाङेले २८ महिना कैद भुक्तान गर्नुपर्ने छ। उनलाई भएको ५ वर्षको सजायमध्ये दुईपटक गरेर ३२ महिना जेल बसिसकेका छन्। सुरूमा जिल्ला अदालतले गरेको २ वर्षको सजाय उनी काटेर मात्र छुटेका थिए।
तर, उच्च अदालत पाटनले ५ वर्ष सजाय गरेपछि मनाङ्गे पुनः पक्राउ परेका थिए। त्यतिबेला उनी ८ महिना डिल्लीबजार कारागार बसेका थिए। सर्वोच्च अदालतमा उनको पुनरावेदन दर्ता गर्ने आदेशपछि मनाङे धरौटीबापतको रकम बुझाएर छुटेका थिए।
सोही फैसला कार्यान्वयनका लागि प्रहरीले मनाङेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।

