गाउँपालिका अध्यक्षको टिकट पाउने भएपछि नेकपा एसका केन्द्रीय सदस्य एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही एमालेमै फर्किएका छन् । मंगलबार दैलेखस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा फर्किएका हुन् । शाहीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पार्टीमा स्वागत गरेका थिए ।…

गाउँपालिका अध्यक्षको टिकट पाउने भएपछि नेकपा एसका केन्द्रीय सदस्य एमालेमा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही एमालेमै फर्किएका छन् ।

मंगलबार दैलेखस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा फर्किएका हुन् । शाहीलाई कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पार्टीमा स्वागत गरेका थिए ।

दैलेखको महाबु गाउँपालिका शाहीलाई १६ मंसिरमा हुने उपनिर्वाचनमा अध्यक्षको उम्मेदवार बनाउने गरी एमालेमा फर्काइएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

शाही २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट महाबु गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । शाही २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साविकको काँसीकाँध गाविसको उपाध्यक्ष बनेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट अध्यक्षमा लडेका शाहीले २२ सय ६८ मत ल्याएका थिए । एमाले विभाजन हुँदा शाही सुरुमै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका थिए । २४ कात्तिकमा बसेको एमाले सचिवालय बैठकले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३३ ठाउँका उम्मेदवारको टुंगो लगाएको थियो । तर, महाबु गाउँपालिकाको उम्मेदवार भने एमालेले टुंगो लगाएको छैन ।