अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ

वीरगञ्ज । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो । वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क…

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ

वीरगञ्ज । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।

वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसो १२ बजेपछि घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेका थिए ।

छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।

बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगञ्जमा निष्ठा र श्रद्धापूर्वक मनाइएको बर्ताए । “श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्”, उनले भने, “छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।”

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले वीरगञ्जमा छठ पर्वलाई आदरपूर्वक मनाइने बताए । “हामीले विगत २२ वर्षदेखि प्राचीन कला संस्कृतिको संरक्षण र जर्गेना गर्दै छठ पर्व मनाउँदै आइरहेका छौँ”, उनले भने, “घडीअर्वा पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।”

अध्यक्ष कानुले छठ पर्वमा परिवारका सदस्यले छठ पूजाका सामग्रीलाई ढकिया, डालोलगायत राखेर छठ घाटमा ल्याउने परम्परा रहेको बताए । “महिला बर्तालुहरु पानी नखाई व्रत बस्ने भएकाले परिवारका सदस्यले छठघाटसम्म पूजाका सामग्री बोकेर ल्याउने चलन छ”, उनले भने, “परिवारको सुख, शान्ति र भातृत्वको विकास गर्नका लागि यो पर्व निकै महत्वपूर्ण रहेको छ ।” समितिका अध्यक्ष कानुले वीरगञ्जका अन्य स्थानमा भन्दा घडीअर्वा पोखरीमा दर्शनार्थी र अवलोकनकर्ताको धेरै घुइँचो लाग्ने बताए ।