काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत छ।
शनिबार बिहान कोसी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको आकाशमा पनि अहिले बादल लागेर धुम्म भएको छ।
आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

