काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राखेको भेलामा उपस्थित नेताहरूले मुख्यगरी ५ वटा विषय उठाएका छन्।
आइतबार काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयबारे कुराकानी भएको हो। कोइरालासहित उनी पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए।
उनीहरूले सभापति शेरबहादुर देउवाले चुनावअघिको गठबन्धनलाई चुनावपछि निरन्तरता दिन नसकेको आरोपसमेत लगाएका थिए। कांग्रेसले यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक राखे पनि दुई पटक स्थगित भइसकेको छ। यही माघ १५ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा यो विषयमा समीक्षा हुँदैछ।
कोइराला पक्षको भेलामा उपस्थित अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको अहिलेको सरकारलाई गत पुस २६ गते किन कांग्रेसका सांसदले विश्वासको मत दिए भन्ने विषयमा पनि कुरा उठेको थियो।
विश्वासको मत नदिऔं भन्ने पक्षमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र प्रदीप पौडेल मात्र उभिएका थिए। तर उनीहरूले पनि ह्वीप लागेपछि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए।
कांग्रेस प्रमुख प्रतिपक्षमा बस्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्न नमिल्ने तर्क आइरहेका छन्। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कोइरालाले सार्वजनिक रूपमै तटस्थ बस्नुपर्ने आफ्नो धारणा भए पनि पार्टीमा सुनुवाइ नभएको दाबी गरेका थिए। आज आन्तरिक भेलामा पनि उनले यो कुरा दोहोर्याएका छन्।
कोइराला पक्षको भेलामा उठेको अर्को विषय हो कांग्रेस किन ढुलमुले नीति लिइरहेको छ। स्पष्ट दृष्टिकोणका साथ कांग्रेस हिँडिरहेको छैन, सानका साथ प्रमुख प्रतिपक्षमै बस्नुपर्थ्यो र जनताका कुरा सदनमा उठान गर्नुपर्थ्यो भन्ने नेताहरूले बताएका थिए। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले अन्य दलको सहयोगमा सभामुख र उपसभामुखमा भने पार्टीबाट उम्मेदवार उठाएको थियो।
यसबारे सांसदसमेत रहेका भण्डारीले पार्टी स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए।
कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै राष्ट्रपति पद आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन्।
१४ औं महाधिवेशनका बेला शेखरसँग उभिएका ३२ जना सांसद भए पनि उनीहरूले संस्थापनइतरका उम्मेदवार महामन्त्री थापालाई संसदीय दल नेतामा भोट दिएका थिएनन्। तर महामन्त्री थापासँग अर्का महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल उभिएका थिए।
संसदीय दलमा थापाको अपेक्षाअनुसार मत नआएपछि समूहको नेता को हो भन्ने विषयमा पनि कुरा उठेको थियो। ‘टिम लिडर शेखर हो कि गगन हो प्रष्ट पारेर जानुपर्ने हुन्छ। संसदीय दल नेताका लागि चुनाव लड्दा संस्थापनइतर समूहकै भोट गगनलाई किन आएनरु यसबारे पनि छलफल गरेर जानुपर्छ,’ बैठकमा सहभागी एक नेताले भने।
कांग्रेसले यही माघ १५ गते केन्द्रीय समिति बैठक गर्दैछ। उक्त बैठकमा सामूहिक रूपमा धारणा राख्ने गरी कोइराला पक्षले आन्तरिक छलफल गरेका हुन्।
नेविसंघ, तरूण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने र विभागहरू गठन तथा पूर्णता दिइनुपर्नेजस्ता विषयमा पनि सभापति देउवालाई दवाव दिनुपर्नेमा नेताहरू छन्।
कोइराला पक्षको भेलामा कांग्रेस नेताहरूले उठाएको यी विषय
आइतबार काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक विषयबारे कुराकानी भएको हो। कोइरालासहित उनी पक्षका पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापति भेलामा उपस्थित थिए।

