रवि लामिछानेलाई पोखराबाट बुटवल लगिने !

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा सहयोग गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धान अधिकारीहरु खटाइएको छ।

रवि लामिछानेलाई पोखराबाट बुटवल लगिने !
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलमा पनि मुद्दा चलाइने भएको छ। सूर्यदर्शन सहकारी ठगीमा पोखरामा अनुसन्धान सकेपछि बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी स्रोतका अनुसार सहकारीको रकम अपचलनमा संलग्न गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीलाई बुटवल लगिएको छ। यसअघि रवि लामिछाने गृहमन्त्री हुुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो। अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो। ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उनीसँग सामान्य सोधपुछ समेत गरेको थिएन। तर अहिले पूर्वडीआईजी समेत रहेका छविलाल जोशीलाई लगेर दोस्रो चरणको अनुसन्धान इलाका प्रहरी कार्यालय बुटवलले अगाडि बढाएको हो। सूर्यदर्शन सहकारी ठगीको आरोपमा यसअघि जोशीलाई पनि प्रतिवादी बनाइएको थिएन। तर सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो। समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो। उक्त प्रतिवेदन गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयलाई पठाइएको थियो। प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्लाका प्रहरीलाई प्रतिवेदन पठाउन अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा सहयोग गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट अनुसन्धान अधिकारीहरु खटाइएको छ। यसअघि यी सहकारीका विवरण रहेका सफ्टवेयरको अनुसन्धानमा पनि सीआईबीले सहयोग गरेको थियो। तर त्यसपछि लामिछाने नै गृहमन्त्री भएसँगै प्रहरीले अनुसन्धान रोकेको थियो। उनी गृहमन्त्रीबाट हटेलगत्तै पोखरामा अनुसन्धान फेरि अघि बढाइएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको सहयोगमा छवि र रविलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि अन्य जिल्लाले पनि अनुसन्धान थालेका हुन्। पोखरामा तत्कालै मुद्दा दायर भएको जिल्ला अदालत कास्कीबाट पुर्पक्षका लागि थुनाबाहिर जाने भएमा बुटवल लगिने सम्भावना छ।