उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभामा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छन् । उनले १६६ मत पाइन् भने अर्की उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाइन् ।

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित
काठमाडौं । प्रतिनिधिसभामा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छन् । उनले १६६ मत पाइन् भने अर्की उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाइन् । प्रतिनिधिसभाको आजको बैठकमा २६४ जना सांसद उपस्थित भएका थिए । मत दिन्न अर्थात् तटस्थमा एक जना सांसद बसेका थिए। २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। रानामगरको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम थिइन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला थिए । राष्ट्रिय स्वतन्त्र पार्टीकी रानामगरलाई सत्ता गठबन्धनमा रहेका दलहरूले समर्थन गरेका थिए। यादवलाई भने कांग्रेसलगायत अन्य दलको समर्थन रहेको थियो। रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्।