साफ महिला च्याम्पियनसिप: साम्बाबिनै भुटानविरुद्ध मैदान उत्रिँदै नेपाल

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८० गोलअन्तरले पराजित गरेको थियो । यस्तै, सन् २०१६ मा भारतमा भएको चौथो साफमा पनि नेपालले भुटानलाई ८-० गोलअन्तरले नै पराजित गरेको थियो ।

साफ महिला च्याम्पियनसिप: साम्बाबिनै भुटानविरुद्ध मैदान उत्रिँदै नेपाल
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आयोजक टिम नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार (आज) साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदान उत्रिँदा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने हुने छैनिन् । फ्रेन्च महिला लिगमा व्यस्त रहेकाले साम्बाले भुटानविरुद्धको खेल गुमाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साम्बा सम्भवतः शनिबार साफ च्याम्पियनसिपका लागि शनिबार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । साम्बाको अनुपस्थितिमा रेखा पौडेल र रश्मीकुमारी घिसिङले नेपालको फरवार्ड लाइन सम्हाल्नेछन् । साम्बा नेपाली राष्ट्रिय टिमबाट सर्वाधिक ५३ गोल गर्ने खेलाडी हुन् । त्यसैले साम्बालाई नेपालको गोल मेसिन भनेर पनि चिनिन्छ । नेपालले साफ च्याम्पियनसिपमा भुटान अहिलेसम्म चारपटक खेलेको छ । ती चारै खेलमा नेपालले भुटानलाई पराजित गरेको छ । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८० गोलअन्तरले पराजित गरेको थियो । यस्तै, सन् २०१६ मा भारतमा भएको चौथो साफमा पनि नेपालले भुटानलाई ८-० गोलअन्तरले नै पराजित गरेको थियो । सन् २०१९ मा विराटनगरमा भएको पाँचौँ साफमा नेपालले भुटानलाई ३-० र पछिल्लोपटक सन् २०२२ मा दशरथ रंगशालामै भएको छैटौँ साफमा ४-० गोलअन्तरले पराजित गरेको थियो । साफ च्याम्पियनसिपमा भुटानसँग नेपालको यो पाँचौँ भेट हो । पाँचौँ भेटमा पनि अघिल्ला संस्करणमा जस्तै जित निकाल्ने लक्ष्यमा नेपाल छ । समूह 'बी' रहेको नेपाल अघिल्लो संस्करणको उपविजेता टिम हो । फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल अघिल्लो संस्करण उपविजेतामै सीमित भएको थियो । समूह 'बी' कै अर्को खेलमा श्रीलंका र माल्दिभ्स आमनेसामने हुँदै छन् ।