काठमाडौं । काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुत्दा चार जना अचेत अवस्थामा फेला परेका छन्।
शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्नेक्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि स्वासप्रस्वासमा समस्या आउँदा निस्सासिएका थिए। सोही घरमा बस्नेले थाहा पाएपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेको एसएसपी कार्कीले बताए।
‘३५ दिनको बच्चा पनि थियो। जाडो भएको हुनाले मकल बालेका रहेछन्। नजिकैका एक जनाले देखेपछि अस्पतालमा पुर्याए,’ उनले भने, ‘गुम्सिएपछि कोठामा अक्सिजनको कमी भएर निस्सासिँदै जान्छ।’
९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।
उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याएको थियो। उनीहरूको आइसियूमा उपचार भइरहेको छ।
यस्तै सिभिलमा आइसियू खाली नभएपछि छलमायाको थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरेको हो।
कोइला बालेर सुत्दा ३५ दिनको बच्चासहित ४ जना अचेत अवस्थामा