विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पन्थीको सरूवा, भिजिट भिसामा 'लाइन चलाएको' आरोप

‘जाँचको क्रममा ती व्यक्तिहरु विदशमा घुम्नका लागि नभएर बेचिनका लागि जाने तयारीमा रहेको बुझेपछि कागजात नियन्त्रणमा लिएर राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हौं,’ प्रवक्ता मिश्रले भने ।

विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पन्थीको सरूवा, भिजिट भिसामा 'लाइन चलाएको' आरोप
काठमाडौं । भिजिट भिसामा ‘लाइन चलाएको’ आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा भएको छ । पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै विभागका महानिर्देशक तीर्थ भट्टराईलाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा मानव वेचबिखन अनुसन्धान ब्यूरोले भिजिट भिसा कार्यविधि अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई ‘लाइन चलाएर’ विदेश पठाउने धन्दामा पन्थी संलग्न रहेको प्रमाण पाएपछि गृह मन्त्रालयले पन्थीलाई सरुवा गरेको स्रोतले जानकारी दिएको हो । गत असोज ११ गते राति मानव बेचविखन अनुसन्धान ब्यूरो तथा केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मार्दै भिजिट भिसामा विदेश भएका व्यक्तिहरुको कागजात नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रका अनुसार विदेशमा गएर धेरै बेचिन थालेपछि इन्टरपोलको अपरेसन ‘लिभर टेरा टू’अन्तर्गत असोज ११ गते अपरेसन चलाइएको थियो । त्यस क्रममा १६५ जनाको राहदानी लिएर जाँच गर्दा बेचिने तयारीमा रहेको पाएपछि राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दै उनीहरुलाई विदेश जानबाट रोकिएको । सोही अनुरुप उनीहरुलाई बेचिने खतरामा भएकाले रोकिएको प्रवक्ता मिश्रले बताए । साथै विदेश गइसकेकालाई फिर्ता ल्याएको नभएर जाने तयारीमा रहेकालाई रोकिएको मिश्रले बताए । स्रोतका अनुसार इन्टरपोलको सहकार्यमा भएको अपरेसन ‘लिभर टेरा टू’ अन्तर्गत अध्यागमनमा छापा नहानिएको भए १६५ जना नै अध्यागमन अधिकृतलाई रकम बुझाएर विदेश जाने तयारीमा थिए । ‘जाँचको क्रममा ती व्यक्तिहरु विदशमा घुम्नका लागि नभएर बेचिनका लागि जाने तयारीमा रहेको बुझेपछि कागजात नियन्त्रणमा लिएर राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हौं,’ प्रवक्ता मिश्रले भने । कार्यविधि अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई समेत अध्यागमन अधिकृतले विदेश जान अनुमति दिएको पाएपछि प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो ।