मेलम्चीको पानी काठमाडौंमा, मन्त्री यादवद्वारा वितरण सुभारम्भ

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गरेका छन् ।

मेलम्चीको पानी काठमाडौंमा, मन्त्री यादवद्वारा वितरण सुभारम्भ
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गरेका छन् । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रशाद लामिछानेले बताए। उनले भने,“मन्त्री ज्यू र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।” मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए । उनले भने, “मेलम्चीको शुद्ध पानी आइपुगेको छ, अब केही समयमै नागरिकका धाराधारामा पठाउछौँ ।” खाने पानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो । वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो । विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ ।