नेपालको मौसममा एकसाथ ३ वटा प्रणालीको प्रभाव

देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको मौसममा एकसाथ ३ वटा प्रणालीको प्रभाव
काठमाडौं । हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। साथै कोसी र बागमती प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान महाशाखाले गरेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।