११ नेपालीसहित ३३ जना आप्रवासी सवार ट्रकमा गोली प्रहार

“यो एक निन्दनीय घटना हो । यसको अनुसन्धान र दोषीलाई सजाय हुनुपर्छ,” शेनबाउमले पत्रकार सम्मेलनमा भनिन्, “यस्तो घटना दोहोरिन हुँदैन ।” उनले महान्यायाधिवक्ताको कार्यालयले घटनाको अनुसन्धान गरिरहेको पनि बताइन् ।

११ नेपालीसहित ३३ जना आप्रवासी सवार ट्रकमा गोली प्रहार
काठमाडौं । असोज १५ गते ग्वाटेमाला–मेक्सिको सीमानजिकै भएको गोलीकाण्डमा तीन नेपाली घाइते भएका छन् । स्थानीय अस्पतालमा घाइते तीन नेपालीको उपचार भइरहेको अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासले जानकारी गराएको छ । ३३ आप्रवासी सवार एउटा ट्रकमा मेक्सिकोको सेनाले गोली प्रहार गरेको थियो । उक्त ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक रहेका थिए । नेपाली दूतावासका अनुसार, ट्रकमा ११ नेपाली सवार थिए । तीमध्ये गोली लागेर तीनजना घाइते भएका हुन् । उक्त घटनामा ६ आप्रवासीको मृत्यु भएको थियो । कुल १० जना घाइते भएका थिए । उक्त घटना बाहिरिए वासिङटन डीसीस्थित नेपाली दूतावासले मेक्सिको सरकारका सम्बन्धित निकायसँग सोधपुछ गरेको थियो । त्यसपछि वासिङटन डीसीस्थित मेक्सिकोको दूतावासले नेपालीबारे जानकारी गराएको थियो । सबै ११ नेपाली हाल मेक्सिकोको अध्यागमन हिरासतमा छन् । घटनामा सबै नेपाली सुरक्षित रहेको बताइएको छ । आप्रवासी सवार ट्रकमा अन्धाधुन्ध गोली प्रहारको व्यापक आलोचना भएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाउमले घटनाको अनुसन्धान गर्न दिर्नेशन दिएकी छन् । उनले घटनालाई ‘दुःखद’ भनेकी छन् । “यो एक निन्दनीय घटना हो । यसको अनुसन्धान र दोषीलाई सजाय हुनुपर्छ,” शेनबाउमले पत्रकार सम्मेलनमा भनिन्, “यस्तो घटना दोहोरिन हुँदैन ।” उनले महान्यायाधिवक्ताको कार्यालयले घटनाको अनुसन्धान गरिरहेको पनि बताइन् । मंगलबार साँझ करिब ८ः५० बजे गस्तीमा रहेको मेक्सिकोका सैनिकले आप्रवासी सवार ट्रकमा गोली चलाएका थिए । तीव्र गतिमा रहेको ट्रकलाई रोक्न आग्रह गर्दा नमानेपछि गोली चलाइएको मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।