नारायणगढ–मुग्लिङ सडकमा गुड्दै गरेको गाडीमा ढुंगा खस्यो

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिवार राति ढुंगा खसेर लाग्दा उनीहरू घाइते भएका हुन् ।

नारायणगढ–मुग्लिङ सडकमा गुड्दै गरेको गाडीमा ढुंगा खस्यो
फाइल तस्बिर काठमाडौं । चितवनको नारायणगढ–मुग्लिङ सडकमा माथिबाट ढुंगा खस्दा दुईवटा गाडीमा सवार पाँचजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए। ‘घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको छ,’ डीएसपी रिजालले भने, ‘तर, उहाँहरु पनि खतरामुक्त हुनुहुन्छ। दुईजना भने सामान्य मात्रै घाइते छन्।’ घाइते सबैको भरतपुरमा उपचार भइरहेको छ। गएराति साढे आठ बजेतिर काठमाडौंबाट दसैँका यात्रु लिएर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ जाँदै जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो। घाइते हुने सबै यात्रु बर्दिया जाँदै गरेको बसमा सवार थिए। ढुंगाले लाग्दा दुवै सवारी साधनमा क्षति पुगेको रिजालले जानकारी दिए। माइक्रो बसमा भने चालक मात्रै भएकाले कोही घाइते भएनन्।