रसुवागढी नाका पुनः बन्द

दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ ।

रसुवागढी नाका पुनः बन्द
काठमाडौं । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ । दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्यप्रगति नगण्य छ । सामान्य अवस्थामा दुई देशबीच वार्षिक रु साढे दुई खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरुमा निकै कमजोर छ । विसं २०७२ को भूकम्पपछि थलिएको सिन्धुपाल्चोकको तातोपानी नाका अझै लयमा फर्किन सकेको छैन । भूकम्प अघि वार्षिक रु डेढ खर्ब बराबरको कारोवार तातोपानी भन्सार बाट हुन्थ्यो । जसबाट सरकारले वार्षिक करिब छ अर्ब राजस्व उठाउने गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनाअर्थात् गत मङ्सिर मसान्तसम्ममा तातोपानी भन्सारबाट चार अर्ब ४२ करोड २४ लाख २३ हजार बराबरको वस्तु आयात भएको देखिन्छ । नेपालबाट चीनमा हुने वस्तु निर्यात भने शून्य छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार अहिले त्यहाँ मासिक औसत २४ करोड बराबर राजस्व उठ्ने गरेको छ । “अहिले दैनिक तीनवटासम्म कन्टेनरमा सामान चीनबाट आउने गरेको छ । चीनबाट मुख्य गरी स्याउ नेपाल आउँछ । अरु व्यापारिक सामान आएका छैनन्”, उनले भने । नेपालबाट चीनमा हुने निर्यात खुलाउनका लागि ल्हासास्थित नेपाली वाणिज्य दूतावासबाट पहल भइरहेको भए पनि कहिले खुल्ने यकिन नरहेको भन्सार अधिकृत केसी बताउनुहुन्छ ।