ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान, दाई ओमकुमार धरौटीमा रिहा

इमेज बचत तथा ऋण सहकारीका संस्थापक नेपालीलाई पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालत बागलुङले आदेश दिएको हो।

ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान, दाई ओमकुमार धरौटीमा रिहा
काठमाडौं । सहकारीको बचत अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई मंगलबार पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालत बागलुङले आदेश दिएको हो। १६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएकाे थियो । इजालश अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबारनै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको करिब दुई अर्ब रुपैयाँ बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा नेपाली फरार भएका थिए । यस्तै उनीसँगै पक्राउ परेका ओमकुमार दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।  धराैटीमा रिहा भएका ओमकुमार देवकुमारको दाई हुन् ।