उद्धारको पखाईमा रहेका चार जनालाई बाढीले बगायो

उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जना बेपत्ता भएका छन् । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।

उद्धारको पखाईमा रहेका चार जनालाई बाढीले बगायो
काठमाडौं । उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै ललितपुरको नखिपोटमा चार जना बेपत्ता भएका छन् । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए । प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए । प्रहरी आउन पनि झण्डै ४५ मिनेटजति लागेको उनले बताए । ‘राजधानीको मन्त्री निवास नजिकै रहेको नखिपोट जस्तो क्षेत्रमा पनि यस्तो स्थिति छ भने अन्त के हालत होला’, उनले प्रश्न गरे, ‘कम्तीमा लाइफ ज्याकेट मात्र लिएर उहाँहरु आउनु भएको भए बचाउन सकिन्थ्यो ।’ दुई जना प्रहरी आएपछि डोरी समेत आफूले घरबाट ल्याएर दिएको उनले बताए । ‘लुगा सुकाउने डोरी ल्याएपछि उहाँहरुले क्रेटमा बाँधेर पठाउनुभयो’, उनले भने, ‘तर, चार जना बस्नु भएपट्टीकै जस्ता खस्यो र उहाँहरुलाई नख्खु खोलाले बगायो ।’ सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन् । उनीहरुको खोजी भइरहेको उनले बताए । बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन् ।