भोलिदेखि वर्षा अझ बढ्ने, ५६ जिल्ला उच्च जोखिममा

बिहीबारदेखि ४ दिन वर्षा अझ बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गरी सो अवधिमा वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।

भोलिदेखि वर्षा अझ बढ्ने, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौं । बिहीबारदेखि ४ दिन वर्षा अझ बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन जारी गरी सो अवधिमा वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। ‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ। साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। असोज १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। साथै देशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।