श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

समितिको बैठक आज (मंगलबार) बिहान ९ बजे बोलाइएको भए पनि दिउँसो ३ बजेसम्मलाई सारिएको थियो। समितिले पटक–पटक प्रमाणपत्र बुझाउने मौका दिँदा पनि भट्टराईले बुझाउन भने सकेनन्।

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले राजदूतबाट आफ्नो नाम फिर्ता लिएका छन्। राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले मंगलबार आफूले नाम फिर्ता लिएको जानकारी संसदीय सुनुवाइ समितिलाई गराएका हुन्। उनले ‘काबु बाहिरको पस्थिति आएका कारण’ आफूले प्रमाणपत्र बुझाउन नसक्ने समेत जानकारी समितिलाई गराएका छन्। प्रस्तावित १७ राजदूतमध्य १६ जनाको नाम ३ असोजमा समितिबाट अनुमोदन भएको थियो। तर, भट्टराईको शैक्षिक योग्यताको प्रमाण पत्र नभेटिएपछि उनीबारेको निर्णयलाई थाँती राखिएको थियो। भट्टराईबारे अन्तिम निर्णय लिन सोमबार बैठक बोलाइएको भए पनि कोरम नपुगेका कारण समितिको बैठक स्थगित भएको थियो। समितिको बैठक आज (मंगलबार) बिहान ९ बजे बोलाइएको भए पनि दिउँसो ३ बजेसम्मलाई सारिएको थियो। समितिले पटक–पटक प्रमाणपत्र बुझाउने मौका दिँदा पनि भट्टराईले बुझाउन भने सकेनन्। भट्टराईले नाम फिर्ता लिएको भए पनि समिति बैठक भने पूर्वनिर्धारित समय ३ बजे नै बस्दैछ।