काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ उडान तालिका पेस गरेको छ ।
गत साउन २९ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राति २ बजे अवतरण तथा ३ बजे उडान गर्ने गरी जजिराले बुझाएको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकृत गरेपछि नयाँ उडान तालिका बुझाइएको हो ।
जजिराले अक्टुबर २८ गतेदेखि सातामा ४ दिन बिहान ६ बजेर २५ मिनेटमा भैरहवा अवतरण गर्ने तथा ७ बजेर १० मिनेटमा उडान गर्ने गरी नयाँ तालिका स्वीकृतिको लागि सोमबार प्राधिकरणलाई प्रस्ताव पेस गरेको स्रोतले जानकारी दियो ।
प्राधिकरणले उडान तालिका स्वीकृत गरेको अवस्थामा आफूहरु अक्टोबर २८ गते भैरहवाबाट उडान र अवतरण गर्ने गरी तयारी अवस्थामा रहेको जजिराका अधिकारीहरु बताउँछन् ।
भैरहवामा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने भएकाले सोहीअनुसार उडान र अवतरण तालिका पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।
दिनभर खुला भएको बेला पनि शून्य आम्दानी भएको विमानस्थललाई अतिरिक्त खर्च गरेर रातभरी खुला गर्न नसकिने भन्दै २ बजे उडान गर्न गरी यसअघि जजिराले पेस गरेको प्रस्ताव अस्वीकृत गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका थिए ।
सरकारले बिभिन्न शुल्कमा छुट दिएकोले विमानस्थल खुला हुने समयमा नै उडान तालिका पेस गर्नु पर्ने प्राधिकरणको भनाइ थियो । ‘रातिको समयमा एउटा वायुसेवाले उडान माग्यो भन्दैमा थप ५० ६० लाख खर्च गर्न सकिँदैन,’ भुलले भनेका थिए ।
भैरहवामा जजिराले रातिमा उडान गर्ने अनुमति पाएन
गत साउन २९ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राति २ बजे अवतरण तथा ३ बजे उडान गर्ने गरी जजिराले बुझाएको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकृत गरेपछि नयाँ उडान तालिका बुझाइएको हो ।

