काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो जायजेथा बेचेर सहकारी बचतकर्ताको रकम तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका छन् ।
उनले इमेज बचत तथा ऋण सहकारी संस्थाकोसमस्या समाधान गर्न संसदीय छानबिन समितिलाई पत्र पठाएका हुन् ।
उनले हुलाकमार्फत समितिलाई पठाएको पत्रमा आफू आबद्ध भएको सहकारी बचतकर्ताको १ अर्ब ८० करोड रुपैयाँ हाराहारी फिर्ता गर्न बाँकी रहेको र बैंकमा धितो राखि लिएको रकम ३१ करोड रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् ।
‘काठमाडौं महानगरपालिका सुकेधारा, पोखरा महानगरपालिका सृजनाचोक, पृथ्वीचोक, बागलुङ नगरपालिका महेन्द्र सालिक चोक, ढोरपाटन नगरपालिका बुर्तिबाङ दरबारचोक, तल्लो बजार, पुलचोकमा म र मेरी श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको मूल्याङ्कन गर्दा ३ अर्ब रुपैयाँ बढीको मूल्याङ्कन हुन आउँछ । कुन-कुन कित्ता बैंकमा घितोका रुपमा राखिएको छ भन्ने विवरण निवेदनमै संलग्न छ । बैंकमा धितोका रुपमा राखिएका कित्ताहरु पनि बैंकबाट लिएको ऋणभन्दा दशौं गुणा बढी मूल्यका छन् । जसका लागि स्वतन्त्र मूल्याङ्कन गर्नसमेत यसै निवेदनमार्फत समितिसमक्ष आह्वान गर्न चाहन्छु । अतः संघर्ष समितिको भर पर्दा एकातिर मेरो घरजग्गा सम्पत्ति हडप्न दलालहरु लगाउने, अर्कोतिर सर्वसाधारण बचतकर्तालाई गुमराहमा राखेर पीडित बनाउने काम भइरहेको छ’ नेपालीले पत्रमा उल्लेख गरेका छन् ।
उनले सहकारी संघर्ष समितिसँग पटक पटक ६ महिनाभित्र बचतकर्ताको बचत रकम फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिवद्धता जनाए पनि बचतकर्तालाई गुमराहमा राख्दै संघर्ष समितिले बदमासी गरेको उनको आरोप छ ।
घर भाडा, होटलको आम्दाबीबाट आउने रकम बुझ्ने सम्पूर्ण जिम्मेवारी समितिका सदस्यलाई दिएको उनले पत्रमा उल्लेख गरेका छन् ।
१३ महिनाको यो बिचमा घरहरुको भाडा ८५ लाख ४ महिनादेखि ढोरपाटन बुर्तिबाङ दरबार होटलको सञ्चालनबाट आउने मासिक आम्दानी ४५ लाख गरि जम्मा १ करोड ३० लाख रुपैयाँ संघर्ष समितिका पदाधिकारीले चलाएको उनले उल्लेख गरेका छन् ।
त्यसरी जम्मा भएको रकम साना बचतकर्तालाई फिर्ता गर्दै जाने सहमति भए पनि १३ महिनादेखि समितिका पदाधिकारीसँग नियमित सम्पर्कमा भए पनि उनीहरुले देवकुमार नेपाली सम्पर्कमा छैनन् भन्दै हिँडेको बताएका छन्।
पछिल्लो समय संघर्ष समितिका प्रतिनिधिले नै आफू र श्रीमतीको नाममा रहेको घररजग्गा बेच्न ग्राहक खोज्ने दलाली काम गरेको उनको आरोप छ ।
संघर्ष समितिमा रहेका केही प्रतिनिधिले आफ्नो बचत बराबरको रकम आफ्नो नाममा रहेको घररजग्गा पास गरेर असुल गरिरहेको र कतिपय समितिका व्यक्तिको सहकारीमा बचत नरहेको उनको भनाइ छ ।
नेपालीले संघर्ष समितिमा रहेका सबै पदाधिकारी सदस्यहरुलाई समेत छानबिनको दायरामा लिन आग्रह गरेका छन् ।
ढोरपाटनका फरार मेयरको बयान : संघर्ष समितिबाटै ठगिएँ
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका छन् ।

